बुद्धिबहादुर गुरुङ रेफ्री संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको संघमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।
श्रीराम रन्जितकार, विनोद केसी र मधुसुदन खनाल उपाध्यक्ष चयन भएका छन्।
यस्तै शैलेश जोशी, विरेन्द्रबहादुर पान्डे, नवीन्द्र महर्जन, श्रवणकुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रविणकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ सदस्यमा निर्वाचित भए।
यता महिला सदस्यमा कल्पना शर्मा निर्वाचित भइन्।
आगामी असार ६ गते हुने एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि एन्फा अन्तर्गतको रेफ्री र महिला संघमा पनि नयाँ नेतृत्व चयन भएको हो।
एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले मत दिन पाउनेछन्।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब गरी जम्मा ८७ भोटरले मत दिनेछन्।
अब तीन जिल्लामा निर्वाचन हुन बाँकी छ। गोरखा, सिन्धुली र सुर्खेत जिल्लाको निर्वाचन हुन बाँकी छ।
गोरखामा अन्तिम समयमा निर्वाचन स्थगित भएको थियो भने सुर्खेतमा प्रतिनिधि विवादका कारण निर्वाचन रोकिएको छ। यस्तै सिन्धुलीमा अध्यक्षका दुई प्रत्याशीको समान भोट आएको थियो।
तीनै जिल्लाको निर्वाचन छलफलपछि तय गरिने एन्फा सचिवालयले जनाएको छ। यस्तै एन्फा महिला संघको पनि निर्वाचन हुन बाँकी छ।