दश जना सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि नयाँ खेलाडीलाई समेटिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासका लागि बोलाइएका नयाँ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको निर्देशनपछि नयाँ खेलाडीको नाम सार्वजनिक गर्ने बताइएको छ।
यद्यपी तस्बिरमा देखिएअनुसार यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्जोक राई, जर्जप्रिन्स कार्कीसहित बी डिभिजन खेलेका केही खेलाडी पनि बन्द प्रशिक्षणमा समेटिएका छन्।
यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
सम्बन्धित समाचारहरू :-
खेलाडी भन्छन्- प्रशिक्षक अलमुताइरीको मानसिक दबाबमा थियौं
कसरी चुलियो ‘प्रिय खेलाडी’ सँग अलमुताइरीको विवाद?
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए। यसविषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गर्दा उनले एन्फा चुनावका कारण आफूले केही गर्न नसक्ने जवाफ दिएको खेलाडीहरूको भनाइ छ।
खेलाडीहरूले घटनाको विषयमा छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
तयारीमा असर
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक अलमुताइरी स्वयम्ले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताइसकेका छन्। त्यसैले नेपालले लक्ष्य राम्रो फुटबल खेल्नु हुनेछ। तर त्यसअघि राष्ट्रिय टिममा विवाद हुँदा टिमको प्रदर्शनमा पनि असर गर्ने पक्का छ।