दश जना सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेको विषयमा बैठक बोलाउन लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित चार जनाले माग गरेका छन्।
बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का र कृष्णबहादुर थापा तथा केन्द्रीय सदस्य दावा लामा रहेका छन्।
'एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरू र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अन्त्यत संवेदनशील विषय भएकाले तत्काल बैठक बसी निर्णय गर्नु पर्ने भएको हुँदा एन्फा केन्द्रीय समितिको बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दछौं,' एन्फा सचिवालयनमा शुक्रबार दर्ता गरिएको पत्रमा भनिएको छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण त्याग्दै १० खेलाडी बाहिरिएपछि खेलाडीहरूले यसअघि अध्यक्ष कर्माछिरिङ शेर्पासँग छलफल गरेका थिए।
छलफलका दौरान एन्फा चुनाव आइरहेकाले आफूले केही गर्न नसक्ने शेर्पाले खेलाडीहरूलाई बताएका थिए।
यसअघि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
सम्बन्धित समाचारहरू :-
खेलाडी भन्छन्- प्रशिक्षक अलमुताइरीको मानसिक दबाबमा थियौं
कसरी चुलियो ‘प्रिय खेलाडी’ सँग अलमुताइरीको विवाद?
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए। यसविषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गर्दा उनले एन्फा चुनावका कारण आफूले केही गर्न नसक्ने जवाफ दिएको खेलाडीहरूको भनाइ छ।
खेलाडीहरूले घटनाको विषयमा छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।