यो सिजनको इंग्लिस प्रिमियर लिग उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले गएराती सानदार जित निकालेको छ। शीर्ष स्थानमा रहेको सिटीले लिड्स युनाइटेडलाई उसकै मैदानमा ४–० ले हरायो।
एलान रोड लिड्समा सिटीलाई जिताउन रोड्री, नाथन एके, गाब्रियल जेसस र फर्नान्डिन्होले एक-एक गोल गरे।
खेलको १३ औं मिनेटमा रोड्रीको गोलबाट सिटीले सुरूवाती अग्रता लियो। पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्यो।
खेलको ५४ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ७८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए। इन्ज्युरी समयको अन्तिम मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई ४-० को फराकिलो जित दिलाए ।
यो जितसँगै सिटीले शीर्षस्थानमा १ अंकको अग्रतालाई कायमै राखेको छ। शीर्षस्थानमा रहेको सिटीको ३४ खेलबाट ८३ अंक पुगेको छ। यस्तै समान खेलबाट लिभरपुल ८२ अंकसहित सिटीलाई पछ्याइरहेको छ।
पराजित लिड्स ३४ खेलबाट ३४ अंक जोडेर १७औं स्थानमा छ।