नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० जना खेलाडीले बन्द प्रशिक्षण छाडेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन्।
आज एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले आफूविरूद्ध राष्ट्रिय टिमका खेलाडीले आरोप लगाएको लेखेका छन्।
उनले आफू सबै खेलाडीको अभिभावक भएको बताउँदै अहिलेको अवस्थाले युवा खेलाडीलाई असहज भएको पनि उल्लेख गरेका छन्।
सम्बन्धित समाचारहरू :-
कसरी चुलियो ‘प्रिय खेलाडी’ सँग अलमुताइरीको विवाद?
खेलाडी भन्छन्- प्रशिक्षक अलमुताइरीको मानसिक दबाबमा थियौं
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा १७ नयाँ खेलाडी बोलाइए
उनले आफूले खेलाडीहरूलाई माफि दिएको पनि बताएका छन्। साथै उनीहरूलाई कारबाही नगर्न पनि एन्फालाई अनुरोध गरेका छन्।
उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका खेलाडीलाई एएफसी कपका लागि राष्ट्रिय टिममा छनोट नगर्ने पनि उनले बताएका छन्।
यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए। यसविषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गर्दा उनले एन्फा चुनावका कारण आफूले केही गर्न नसक्ने जवाफ दिएको खेलाडीहरूको भनाइ छ।
खेलाडीहरूले घटनाको विषयमा छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक अलमुताइरी स्वयम्ले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताइसकेका छन्। त्यसैले नेपालले लक्ष्य राम्रो फुटबल खेल्नु हुनेछ। तर त्यसअघि राष्ट्रिय टिममा विवाद हुँदा टिमको प्रदर्शनमा पनि असर गर्ने पक्का छ।
राष्ट्रिय टिममा बोलाइएका नयाँ खेलाडी
विकेश कुथु (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक बराल (गोलकिपर), आकास बुढामगर, अनिश चौधरी, विकाश तामाङ, जर्जप्रिन्स कार्की, मनिष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रुपबहादुर लामा, सन्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ, सुशील राई
टिम छाडेका खेलाडी
रोहित चन्द, विशाल श्रेष्ठ, विमल घर्तिमगर, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठ
यसअघिको टिमको बाँकी खेलाडी
दीप कार्की (गोलकिपर), एरिक विष्ट, आयुष घलान, विकास खवास, दर्शन गुरुङ, देवेन्द्र तामाङ, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल, सुनील बल, सुरजज्यू ठकुरी।
किरण लिम्बु (हाल माल्दिभ्समा)