नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाड्दै १० जना खेलाडी निस्किएपछि अहिले नेपाली फुटबल तरंगित छ।
राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवाहारप्रति असन्तुष्टि जनाउँदै १० जना खेलाडीले गत साता बन्द प्रशिक्षण छाडेका थिए। त्यसपछि अलमुताइरीले १७ जना नयाँ खेलाडीलाई बोलाउँदै प्रशिक्षण गराइरहेका छन्।
यो विषयमा उनले आइतबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन्। उनले प्रशिक्षण छाडेका १० खेलाडी अबको टिममा नराख्ने प्रष्ट पारेका छन् भने उनीहरूलाई कारबाही नगर्न एन्फालाई अनुरोध समेत गरेका छन्।
यसविषयमा आइतबार एन्फाअन्तर्गको खेलाडी संघको नेतृत्वमा खेलाडीहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा छलफलका लागि गएका थिए।
छलफलमा एन्फाका पदाधिकारसहित केही केन्द्रीय सदस्य तथा टिम व्यवस्थापक मधुसुदन उपाध्याय उपस्थित थिए। तर प्रशिक्षक अलमुताइरी भने उपस्थित थिएनन्।
खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार छलफलका दौरान कुनै ठोस निचोड भने निस्किएन।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा बैठककै दौरान बाहिर निस्किएका थिए।
‘घरदैलो कार्यक्रममा जानु छ। एक घन्टापछि आउछु भनेर निस्कनु भयो। तर साँझसम्म फर्कनु भएन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘हामीले घरदैलो कार्यक्रमभन्दा फुटबलका लागि यो संवेदनशील विषय भएको कुरा सम्झाउदा पनि उहाँले सुन्नु भएन।’
शेर्पा नेपाली कांग्रेसबाट राजनीति गर्छन्।
खेलाडी संघका अध्यक्ष लामाले पनि एन्फा अध्यक्ष शेर्पा बैठककै दौरान निस्किएको पुष्टि गरे। ‘यस्तो संवेदनशील विषयको बैठकलाई छाडेर बाहिर निसक्नु भयो,’ उनले भने।
एन्फा अध्यक्ष शेर्पाले भने आफू घरदैलो कार्यक्रममा नगएको दाबी गरे। 'म घरदैलो कार्यक्रममा गएको छैन। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग छलफलमा थिएँ,' शेर्पाले भने।
यद्यपी उनले आज मध्यान्ह काठमाडौं महानगरपालिका मेयर उम्मेदवार सिर्जना सिंहसँग तस्बिर खिँचाउँदै फेसबुकमा पोस्ट गरेका छन्।
यता खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा नेतृत्व जिम्मेवारीबाट भागिरहेको बताउँदै सत्यतथ्य बाहिर आउनुपर्ने माग गरे।
‘हामी प्रशिक्षसहितको बैठकमा छलफल गर्न चाहान्छौं। तर उहाँहरू भागिरहनु भएको छ,’ लामा भने।
छलफलमा टिम व्यवस्थापक उपाध्यायले खेलाडीहरूको कुनै गल्ति नभएको स्वीकार गरेको अध्यक्ष लामाको दाबी छ।
विवादको विषयमा छलफल गर्न एन्फा महासचिव इन्द्रमान तुलाधारले पहल गर्ने कुरा भइरहेको पनि लामाले बताए।