अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघले राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरी सँगको बिबादको विषयमा छानबिन गर्न माग गरेको छ।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले सोमबार एन्फामा पत्र दर्ता गराएका हुन्।
यसअघि आइतबार संघका अध्यक्षसहित १० खेलाडीहरू एन्फामा छलफल गर्न गएका थिए। तर कुनै निचोड निस्किएको थिएन।
खेलाडीहरूले पनि घटनाको विषयमा जानकारी गराउँदै उचित कदम चाल्न माग गर्दै अर्को पत्र दर्ता गराएका छन्।
खेलाडी संघको पत्र
खेलाडीहरूको पत्र
यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए। यसविषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गर्दा उनले एन्फा चुनावका कारण आफूले केही गर्न नसक्ने जवाफ दिएको खेलाडीहरूको भनाइ छ।
खेलाडीहरूले घटनाको विषयमा छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक अलमुताइरी स्वयम्ले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताइसकेका छन्। त्यसैले नेपालले लक्ष्य राम्रो फुटबल खेल्नु हुनेछ। तर त्यसअघि राष्ट्रिय टिममा विवाद हुँदा टिमको प्रदर्शनमा पनि असर गर्ने पक्का छ।
राष्ट्रिय टिममा बोलाइएका नयाँ खेलाडी
विकेश कुथु (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक बराल (गोलकिपर), आकास बुढामगर, अनिश चौधरी, विकाश तामाङ, जर्जप्रिन्स कार्की, मनिष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रुपबहादुर लामा, सन्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ, सुशील राई
टिम छाडेका खेलाडी
रोहित चन्द, विशाल श्रेष्ठ, विमल घर्तिमगर, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठ
यसअघिको टिमको बाँकी खेलाडी
दीप कार्की (गोलकिपर), एरिक विष्ट, आयुष घलान, विकास खवास, दर्शन गुरुङ, देवेन्द्र तामाङ, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल, सुनील बल, सुरजज्यू ठकुरी।
किरण लिम्बु (हाल माल्दिभ्समा)