सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन्द्र चन्द निर्विरोध निर्वाचित भएका छन्।
आज अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको निर्वाचनमा प्रक्रियमा रविन्द्रको विरूद्धमा दाबी विरोध नपरेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्।
उनीसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, ललित जङ शाही र दर्शन थापा चयन भएका छन्।
यस्तै सदस्यमा ममता राई, मान सिं गुरुङ, मदन रिमाल, दलबहादुर केसी, गोवर्द्धन खड्का, देवीशरण गुरुङ, प्रकाश राना क्षेत्री, इन्द्रलाल चौधरी, खगेन्द्रबहादुर विष्ट, भूपेन्द्र शाही र कृष्णबहादुर रावल निर्वाचित भए।
यसअघि प्रतिनिधि विवादका कारण संघको निर्वाचन रोकिएको थियो।
आगामी असार ६ गते हुने एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि जिल्लामा नयाँ नेतृत्व चयन भएको हो।
एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले मत दिन पाउनेछन्।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब गरी जम्मा ८७ भोटरले मत दिनेछन्।