अखिल नेपाल फुटबल संघ (एन्फा) को आज दिउँसो आपतकालीन बैठक बस्ने भएको छ। दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको आपतकालीन बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एन्फाले बैठकको एजेन्डाको विषय भने दिएको छैन। ती केन्द्रीय सदस्यका अनुसार राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादको विषयमा बैठकमा छलफल हुँदैछ।
यसअघि नै एन्फाका तीन उपाध्यक्षसहित र एक केन्द्रीय सदस्य गरी चार जनाले खेलाडी-प्रशिक्षकको विवाद संवेदनशील भएकाले बैठक बसेर निर्णय गर्नुपर्ने माग गरेका थिए। तर एक सातासम्म पनि एन्फाले केन्द्रीय समिति बैठक बोलाएन।
दुई सातअघि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाड्दै १० जना खेलाडी निस्किएपछि अहिले नेपाली फुटबल तरंगित छ।
राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवाहारप्रति असन्तुष्टि जनाउँदै १० जना खेलाडीले दुई साताअघि बन्द प्रशिक्षण छाडेका थिए। त्यसपछि अलमुताइरीले १७ जना नयाँ खेलाडीलाई बोलाउँदै प्रशिक्षण गराइरहेका छन्।
खेलाडीहरूले यसविषयमा छानविन गर्नु भन्दै एन्फासहित राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र खेलकुद मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।
तर एन्फाले दुई सातासम्म यसविषयमा केन्द्रीय समितिमा छलफल गर्न सकेको थिएन।