अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवाद विषयमा छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका पूर्व उपरथी भिक्टर राणाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
कार्यदलमा पूर्वअन्तर्राष्ट्रिय खेलाडी बिदूर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य छन्।
कार्यदललाई खेलाडी-प्रशिक्षक विवादको विषयमा तथ्य पत्ता लगाउने जिम्मेवारी हुनेछ।
आइतबार बसेको एन्फाको कार्यसमिति बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
दुई साताअघि दश जना सिनियर खेलाडीले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका थिए।
प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।