विश्व चर्चित फुटबल खेलाडी अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको विवाह आज अर्जेन्टिनाको राजधानी ब्युनोज आयर्सदेखि ३ सय किलोमिटर उत्तरपश्चिम पर्ने रोसारियास्थित एक सान्दार पाँच तारे होटलमा हुँदैछ।
उनको विवाहमा विश्वभरका २ सय ५० विशेष अतिथि आजसम्म रोसारियो पुग्दैछन्। वैवाहिक कार्यक्रममा १ सय ५० को हाराहारीमा पत्रकारहरुलाई समाचार संकलन गर्ने अनुमति दिइएको छ।
विवाहका लागि मेसी दुई सातादेखि आफू जन्मिएको ठाउँ रोसारियोमा छन्। बच्चैदेखिको साथी तथा आफ्नो दुई बच्चाकी आमा २९ वर्षीय आन्टोनेला रोक्किजोसँग मेसीको विवाह हुँदैछ।
मेसी रोसारियोको गरिब परिवारमा जन्मिएका हुन्। उनको २ भाई तथा एक दिदी छिन्। रोक्किजो मेसीको मिल्ने साथीको नातेदार हुन्। उनीहरु पाँच वर्षको उमेरदेखि नै एक अर्कासँग परिचित छन्।
१३ वर्षको उमेरमा लम्बाई नबढ्ने रोगका कारण मेसी उपचार र फुटबल सिक्न स्पेन लागेका थिए। जसका कारण बीचको केही वर्ष उनीहरुको भेट भएको थिएन्। तर, सन् २००० पछि मेसी आफ्नो परिवार भेट्न अर्जेन्टिनास्थित आफ्नो घर फर्किदा उनीहरुको पुनः भेट भएको थियो। यतिबेला रोक्किजोको मिल्ने साथीको सडक दूर्घटनामा निधन भएको थियो।
त्यसको केही वर्षपछि नै रोक्किजो बार्सिलोना पुगेकी थिइन्। यो जोडी २००८ देखि स्पेनको बार्सिलोनामा सँगै बस्दै आइरहेका थिए। दुवैबाट ४ वर्षको छोरा थियागो र डेढ वर्षको माटियो छन्। उनीहरु आफ्नो बाबु–आमाको विवाहमा विशेष आकर्षण हुनेछन्।
फुटबल मैदान बाहिर मेसी निकै साधारण व्यक्ति मानिन्छन्। सन् २०१४ को विश्व कपताका मेसीले स्पोर्ट्स च्यानल इएसपिएनलाई दिएको अन्तर्वार्तामा आफू अरु जस्तै साधारण व्यक्ति भएको र सामान्य जीवनयापन गर्न रुचाउने बताएका थिए। ‘जब म खेलेर फर्किन्छु। मेरो आफ्नो परिवार, साथी भाई छन्। अरु जस्तै सामान्य किसिमले बाच्न रुचाउँछु,’ उनले भनेका थिए।
विश्व उत्कृष्ट खेलाडी भए पनि मेसी तड्कभड्क र चर्चामा आउन रुचाउँदैनन्। उनी साथी भाई र आफन्तसँगै बढि समय बिताइरहेका हुन्छन्। मेसीसँग नजिकै रहेका र उनका पूर्व सहपाठी मेसीलाई सामान्य व्यक्ति भन्न रुचाउँछन्। उनी साथी भाईसँग बोलिरहने र ठट्टा गर्न माहिर मानिन्छन्।
प्रायः गम्भीर देखिने मेसी फुटबल मैदानमा खासै कुनै प्रतिक्रिया जनाउँछन्। तर, उनका साथीहरु क्यामेरामा देखिए जस्तै मेसी त्यति गम्भीर पनि नभएको बताउँछन्।
‘होइन, होइन, होइन,’ बार्सिलोनाका पूर्व सहपाठी जोनाथन डोस सान्तोष मेसीलाई लजालु केटाको उपमा दिँदा प्रतिउत्तर दिँदै भन्छन्। सान्तोष हाल रुसमा भइरहेको कन्फिडरेशन कपमा मेक्सिको टोलीमा सहभागी छन्। उनी मेसीलाई खुला हद्य भएको व्यक्ति भन्न रुचाउँन्। ‘उनी ठूलो हृदय भएका व्यक्ति हुन्,’ उनले भने। सान्तोषले २००९ र २०१४ को बीच मेसीसँग बार्सिलोनाबाट खेलेका थिए।
मेसीले आफ्नो शरीरमा दुवै छोराको नाम मात्र होइन, आमा र जेससको सम्मानमा पनि टाटु खोपेका छन्। केही समयअगाडि उनले आधुनिक केटाहरु झै आफ्नो कपाल खैर्याएका थिए।
पछिल्लो केही समययता मेसी सोसल मिडियामा पनि सक्रिय देखिन थालेका छन्। इन्स्टाग्राम खोलेपछि उनले आफ्नो बच्चा र परिवारसँगको केही व्यक्तिगत फोटो सार्वजनिक गर्दै आइरहेका छन्।
मधुरो आवाजमा बोल्ने मेसी सार्वजनिक स्थलमा सायदै बोलेको भेटिएका छन्। उनी खेल सुरु हुनुभन्दा अगाडि र पछाडि कहिल्यै मिडियासँग बोलेको देखिएको छैन्। क्लब र राष्ट्रिय टोलीबाट पत्रकार सम्मेलनमा उपस्थित हुँदा पनि उनी एकदमै कम बोल्ने गर्छन्।
१३ वर्षको उमेरमा मेसी बार्सिलोनातर्फ लाग्दा उनीसँग परिवार पनि गएका थिए। तर, मेसीको आमा र दुई भाईका लागि बार्सिलोनाको बसाइँ त्यति सहज हुन सकेन्। उनीहरु छिट्टै अर्जेन्टिना फर्किएका थिए। मेसीका बाबु जर्जे भने लामो समय उनीसँगै स्पेनमा बसे।
स्पेनमा हुँदा कानुनी कागजपत्र नबन्दा मेसीलाई सुरुका दिन बार्सिलोनाबाट खेल्न अफ्ठेरो परेको थियो। यतिबेला मेसीका बुवाले सोधेका थिए, के गर्ने?
मेसीको टेलिभिजन डकुमेन्ट्री निमार्णका क्रममा जर्जेले विगतको कुरा कोट्याउँदै भनेका छन्, ‘उसले मलाई भन्यो, म यही बस्न चाहन्छु। म बार्सिलोनाका लागि खेल्न चाहन्छु।’
रोक्किजोसँगको विवाह सम्पन्न भएपछि मेसी पुनः बार्सिलोना फर्किने पक्का छ। तर, क्लबसँगको उनको अनुबन्ध सम्झौता अझै लम्बिन सकेको छ्रैन्।