फिफा विश्वकप २०२२ मा इंग्ल्यान्डले उत्कृष्ट सुरूवात गर्न सफल भएको छ। सोमबार भएको समूह ‘बी’को खेलमा इंग्ल्यान्डले एसियन टिम इरानमाथि ६-२ गोलको सानदार जित निकाल्न सफल भएको हो।
इंग्ल्यान्डका लागि बुकायो साकाले दुई गोल गर्न सफल भए। उनले ४३ मिनेट र ६२ मिनेटमा गरी दुई गोल गरेका थिए।
त्यसअघि बेलिङघमले खेलको ३५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो।
पहिलो हाफको इन्जुरी मिनेटको पहिलो मिनेटमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङले तेस्रो गोल गरेका थिए।
साकाले इंग्ल्यान्डका लागि चौथो गोल गरेपछि इरानले एक गोल गर्न सफल भयो। इरानका लागि मेहदी तारेमीले ६५ मिनेटमा गोल गरे।
७१ मिनेटमा मार्कस रास्फोर्डले पाँचौ गोल गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अघि बढेको थियो।
खेलको अन्तिम मिनेटमा ज्याक ग्रेलिसले अर्को गोल गर्दा इंग्ल्यान्डले इरानको पोस्टमा आधा दर्जन गोल छिरायो।
पहिलो हाफमा इरानका गोलकिपर बेइरानभार्ड टाउकोमा चोट लागेपछि मैदान छाड्न बाध्य भएका थिए।
दोस्रो हाफको १३ मिनेट थपिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा इरानका तारेमीले पेनाल्टीमार्फत टिमका लागि दोस्रो गोल गरेका थिए। तारेमीले पनि टिमका लागि दुई गोल गरे पनि उनको टिमले फराकिलो अन्तरको हार बेहोर्न बाध्य भयो।