फिफा विश्वकप २०२२ को च्याम्पियनको टुंगो आइतबार राति लाग्दैछ। अर्जेन्टिना र फ्रान्स दुवै टिम तेस्रो पटक च्याम्पियन बन्नका लागि कतारको लुसेल रंगशालामा भिड्दैछन्।
अर्जेन्टिनाले पछिल्लो पटक १९८६ मा विश्वकपको उपाधि जितेको थियो। पहिलो पटक १९७८ मा च्याम्पियन बनेको अर्जेन्टिना च्याम्पियन नबनेको ३६ वर्ष भइसक्यो।
अर्जेन्टिनाले विश्वकप जित्दा फ्रान्सले एक पटक पनि उपाधि जितेको थिएन। पहिलो पटक सन् १९९८ मा उपाधि जितेको फ्रान्सले अघिल्लो संस्करणमा पनि २०१८ मा च्याम्पियन बनेको थियो।
दुई दुई च्याम्पियन बनेका दुई टिमबीच विश्वकपमा अहिलेसम्म तीन पटक मात्र प्रतिस्पर्धा भएको छ। तीन मध्ये दुई खेलमा अर्जेन्टिना विजयी हुँदा एक खेल फ्रान्सले जितेको छ।
पछिल्लो भेटमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गरेको थियो। फिफा विश्वकप २०१८ को अन्तिम १६ अन्तर्गत रसियाको कजानमा भएको खेलमा ७ गोल भएको थियो।
ग्रिजम्यानको गोलबाट फ्रान्सले अग्रता लिए पनि डि मारियाले गोल गर्दा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफमा मेर्काडोको गोलबाट अर्जेन्टिनाले सुरुमा अग्रता लिएको थियो। तर पभार्डले बराबरी गोल फर्काउदा एमबाप्पेले चार मिनेटको अन्तरमा दुई गोल गर्दै फ्रान्स ४-२ ले अघि बढाएका थिए। इन्जुरी टाइममा अग्युरोले गोल गरे पनि अर्जेन्टिनालाई खेलमा फर्कन ढिला भइसकेको थियो।
त्यसअघि सन् १९७८ को विश्वकपको समूह चरणको भिडन्तमा फ्रान्समाथि अर्जेन्टिनाले २-१ गोलको जित निकालेको थियो।
यस्तै पहिलो संस्करणको विश्वकप १९३० को समूह चरणमा पनि अर्जेन्टिनाले फ्रान्सलाई १-० गोलले पराजित गरेको थियो।