न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबले प्रथम शिवम् न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। आइतवार भएको उद्घाटन खेलमा न्यू डायमण्डले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो।
ओपन स्पाइकर प्रतिभा माली वुमन अफ दी म्याच बनेको लिग खेलमा न्यू डायमण्डले नेपाल आर्मीलाई २५–१३, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो। शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता समूह ‘ए’ को लिग खेलमा एपीएफले टप्स उमाबीलाई ३–० को सोझो सेटमा हरायो।
ढोरपाटन भलिबल प्रशिक्षण क्लबमा संचालन भएको प्रतियोगिताको उद्घाटन पूर्व सभासद श्याम श्रेष्ठ, मुख्य प्रायोजक शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा, नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली र प्रतियोगिता संयोजक कुमार राईले गरेका थिए।
प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेताले एक लाख र तेस्रो स्थान हासिल गर्नेले ५१ हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन्।