आगामी असोजको दोस्रो साताबाट काठमाडौंमा सर्वाधिक पुरस्कार राशीको महिला भलिबल प्रतियोगिता हुने भएको छ।
नेपाल भलिबल संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको हो।
आगामी असोजको दोस्रो साताबाट संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर संयुक्तरुपमा महिला भलिबल लिग प्रतियोगिता गर्ने भएको छ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच १० वर्षसम्म कायम हुने गरी प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधी फाउण्डेसनकै हुनेछ। यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले नै प्रायोजक खोज्ने र नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख रुपैया समेत प्रदान गर्नेछ ।
कार्यक्रममा प्रमुख कार्यकरी सिंहले आठ लाख रूपैयाँको चेक संघलाई हस्तान्तरण गरे।
सम्झौताअनुसार प्रतियोगितामा प्रथम हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रूपैया पाउनेछन्।
भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार हो ।
तीन विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट खेलाडीले टिभिएस स्कुटर र ५० हजार रूपैया पाउनेछ।
नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौँ क्वीन्स र पोखरा पिन्केजले प्रतियोगितामा सहभागीता जनाउने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
कार्यक्रममा प्रमुख कार्यकारी सिंहले प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने आश्वासन दिएका थिए ।
आधाआवाधी फाउण्डेसनका नेपाल संयोजक सूर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मतसम्हार गरिदिइने प्रतिवद्धता व्यक्त गरेका छन्।