पोखरामा शुक्रबारदेखि खुल्ला पुरूष बीच भलिबल प्रतियोगिता शुरु भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे।
उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रले र सिद्धिबक्स गण फूलबारी व्यारेकलाई २–१ को सेटमा हरायो। केन्द्रले १८–२१, २१–१९ र १५–११ ले लिँदै आर्मीमाथि जित निकाल्यो। प्रतियोगितामा २० टिमको सहभागिता रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी र अनुशासित टिमका लागि समान ५/५ हजार नगदसहित ट्रफी पुरस्कार प्रदान गरिने पराजुलीले जानकारी दिए।
उद्घाटन गर्दै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए । सिंगो गण्डकी प्रदेशकै खेलकुद विकासका लागि प्रदेश सरकारले एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको मन्त्री गुरुङको भनाई थियो ।
श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न सकिने बताए । खेलकुद मन्त्रालयमा आफू कार्यरत हुँदा पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न विज्ञ टोली खटाएको र उक्त विज्ञ टोलीले प्रतिवेदनसमेत बुझाइसकेको सचिव दाहालले उल्लेख गरे ।
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बीच भलिबलबाट पदक ल्याउने संभावना रहेको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका गुरुङले एसियाडमा नेपालले बीच भलिबलबाट पदक जित्ने गरी तयारी थालेको औंल्याए।
कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याएको भन्दै श्रम मन्त्रालय सचिव महेशप्रसाद दाहाल, नेपाली सेनाका पूर्व उपरथी भिक्टरशंशेर जबरा, नेपाल भलिबल संघका राष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, पत्रकार धन बस्नेत र युवा समाजसेवी महेन्द्रबहादुर गुरुङलाई दोसल्ला ओढाएर कदरपत्रद्धारा सम्मान गरिएको थियो।