पोखरामा चौंथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता सुरू भएको छ।
प्रतियोगितामा विभागीय टोलीले विजयी सुरूआत गरेको हो।
डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गरेको छ। आर्मीले जावलाखेल २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै तीन अंक जोड्यो।
त्यसै गरी हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंलाई ३– १ को सेटले पराजित ग¥यो। भारतीय खेलाडीलाई प्लेइङ सेटमा उतारे पनि समन्वयको अभावले हेल्प नेपालले २५–१८, १७–२५, २७–२५ र २५–१४ ले जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ । आइतबार भएको अर्को खेलमा नेपाल पुलिस क्लबले मणिमुकुण्द भलिबल क्लब रुपन्देहीलाई सोझो सेटमै पराजित गरेको छ। पुलिसले २५–२०, २५–१२ र २५–२१ ले हराउँदै तीन अंक बटुल्न सफल भएको छ।
त्यसैगरी आइतबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नयाँ बजार स्पोर्टस क्लब काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै तीन अंक ल्याएको छ। सशस्त्रले नयाँबजारलाई २५–२०, २५–१२ र २५–२१ को सेटले पराजित ग¥यो । नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रस्थित कोर्टमा सुरू भएको प्रतियोगितालाई मुख्य प्रायोजक नेपाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष मेहन्द्रमान गुरुङले उद्घाटन गरेका थिए ।
पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ। उपविजेता क्लबको १ लाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ।
तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ। उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ। वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सेटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए।