एकैदिन दोहोरो जित निकाल्दै नेपाल पुलिस क्लब पोखरामा आयोजित भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
आर्मी र सशस्त्रको समान ६–६ अंकसहित दोस्रो, तेस्रो स्थानमा छन् भने हेल्प नेपाल क्लब ५ अंकका साथ चौथो स्थानमा छ।
दुई दिनमा तीन खेलमा पराजित भएको नयाँबजार सामाजिक युवा क्लब भने १ अंकका साथ पाँचौं स्थानमा छ।
नेपाल पुलिस क्लबले जावलाखेलमाथि २५–२१, २५–१४ र २५–१८ को सेटमा पराजित गर्दै अगाडि बढेको पुलिसको विजययात्रालाई नयाँबजारले रोक्ने सकेन। सोमबार पहिलो खेलमा जावलाखेलमाथि सोझो सेटले पराजित गर्दै आत्मविश्वासी देखिएको नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित नयाँबजारलाई दिनको अन्तिम खेलमा चौंथो सेटमा पराजित गर्यो। पुलिसले नयाँबजारलाई २५–२२, २५–२१, १९–२५ र २५ –१३ को सेटमा पराजित गरेको थियो ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ।
सशस्त्रले २५–१८, २५–१५ र २५–१७ मा हराउँदै लिगको तेस्रो स्थानमा छ। दुई खेल खेलेको आर्मीले ६ अंकका साथ दोस्रो स्थानमा छ। आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गरेको छ। आर्मीले ढोरपाटनमाथि २५–१९, २५–१७ र २५–१२ को सेटमा पराजित गरेको हो ।
हेल्प नेपाल स्पोर्टस क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ। हेल्प नेपालले नयाँबजारलाई २०–२५, २५–२२, २५–२१, १६–२५ र १५–११ ले पराजित गरेको थियो । हेल्प नेपालले नयाँ बजार सगँ पाँच सेट खेल्दै अंक बाँड्यो । हेल्प नेपाल २ र नयाँ बजारले १ अंक प्राप्त गरे ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालित आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिताको विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ।
उपविजेता क्लबको पोल्टामा एक लाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए। तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ। उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ। वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सेटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।