पोखरा रंगशालामा भएको चौंथो आरविवि एनभिए पुरुष राष्ट्रिय भलिबल लिगको उपाधि आर्मीले हात पारेको छ।
नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफलाई ३–२ ले हराउँदै आर्मी लिग विजेता बनेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीले १८–२५,२५–१९,२५–१८,१८–२५ र १७–१५ ले पराजित गर्दै उपाधि उचालेको हो।
आर्मीले नगद दुई लाख रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको एपिएफले नगद एक लाख रूपैयाँमा चित्त बुझायो। खेलको पहिलो सेट जितेको एपिएफले दोस्रो र तेस्रो सेटमा भने जित निकाल्न सकेन चौंथौ सेटमा जित निकालेको एपिएफले अन्तिम सेटमा उत्कृष्ट प्रदर्शनी गरे पनि जित निकाल्न भने सकेन।
त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल प्रहरीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४,२५–१९ र २५–१५ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ।
पुलिसले तेस्रो हुँदै नगद ५० हजार रूपैयाँमा चित्त बुझायो भने मणिमुकन्दले २५ हजार रूपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको उत्कृष्ट लिबेरो आर्मीका ईश्वर आले, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका कप्तान इम बहादुर रानामगर , उत्कृष्ट सर्भर पुलिसकै कुल बहादुर थापा , उत्कृष्ट ब्लकर एपिएफ विजय थापा, उत्कृष्ट स्पाइकर आर्मीका मानबहादुर श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक आर्मीका प्रविन किशोर श्रेष्ठ घोषित हुँदै समान पाँच–पाँच हजार रूपैयाँको साथै ट्रफी हात पारे भने प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट घोषित भए उनले नगद २५ हाजार रूपैयाँ र ट्रफी प्राप्त गरे ।