कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको आयोजनामा पोखरामा सामुदायिक मावि स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
माघ ८ गतेदेखि १२ गतेसम्म कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
स्कुलस्तरबाटै भलिबलको विकास गर्ने उद्देश्यले माघ ८ देखि १२ गतेसम्म प्रतियोगिता गर्न लागेको बिहीबार आयोजित कार्यक्रममा कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।
प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरूको सहभागिता रहने पराजुलीले बताए।
कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी बन्न सक्ने प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ ५०/५० टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकमध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए। प्रतियोगिताको उपाधि विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने पराजुलीले बताए ।
यसैगरी प्रतियोगितामा सहभागी सबै टिमलाई तयारीका लागि ५/५ हजार प्रदान गरिने जनाइएको छ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ ।