पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
उपाधिको दाबेदार एपिएफले सेमिफाइनल प्रवेशको लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
बिहीबार हुने दोस्रो खेलमा प्रदेश नं. ५ र गण्डकी प्रदेशको सामना गर्नेछ।
तेस्रो क्वार्टरफाइनलमा प्रदेश नं. ३ ले प्रदेश नं. १ को सामना गर्दा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नं. २ को सामना गर्नेछ।
समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं. ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।
प्रतियोगितामा एपिएफ समूह ‘ए’ बाट र प्रदेश नं ५ समूह ‘बी’ बाट समूह विजेताको रूपमा क्वार्टर फाइनल प्रवेश गरेका हुन्। यसअघि मंगलबार समूह ‘सी’ बाट र समूह ‘डी’ बाट क्वार्टर फाइनल प्रवेश गर्ने टोलीको टुंगो लागिसकेको थियो।
नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।
उत्कृष्ट विधातर्फ वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबरो, वेष्ट ब्लकर, वेष्ट सर्भर, वेष्ट प्रशिक्षकलाई नगद ५ हजारसहित सम्मानित गरिने छ। उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।