पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको क्वार्टर फाइनलमा एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
चारै टिमले सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन्। पहिलो क्वार्टर फाइनल खेलमा एपीएफले आर्मीलाई २५–१५, २५–१९ र २५–१६ को सोझो सेटमा हरायो। दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३, २५–६ र २५–१७ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपीएफसँग भेट पक्का गरेको छ।
त्यसैगरी, प्रदेश ३ ले प्रदेश १ लाई २५–३,२५–१४ र २५–१० को सोझो सेटमा हरायो। नेपाल पुलिसले प्रदेश २ लाई २५–१४,२५–१४ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रदेश ३ सगँ भेट पक्का गर्यो।
लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौंथोलाई सान्त्वनास्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।
उत्कृष्ट विधातर्फ वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबरो, वेष्ट ब्लकर, वेष्ट सर्भर, वेष्ट प्रशिक्षकलाई नगद ५ हजारसहित सम्मानित गरिने छ।
उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दीपकबहादुर गोदारले जानकारी दिए।