दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको हो।
एपिएफले २५–८, १८–२५ र २५–१७ र २५–१७ को सेटमा पराजित गर्दै नगद ३ लाख ५० हजार रुपैयाँसहित, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
दोस्रो भएको नेपाल प्रहरीले १ लाख ७५ हजार रुपैयाँसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
एपिएफले यसअघि लिबलाङमा भएको प्रथम सभामुख कप राष्ट्रिय महिला भलिबलको फाइनलमा पुलिसलाई नै हराएको थियो। एपिएफ क्लबको यो वर्षका सातौं उपाधि हो। नेपालमा भएका आठ वटा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफले सात वटा जितेको छ।
शनिबार नै तेस्रो स्थानको लागि भएको खेलमा प्रदेश नं. ३ ले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै नगद एक लाख रुपैयाँ हात पार्न सफल भयो।
प्रदेश ३ ले गण्डकीलाई २५–१४,२१–२५,२५–१४ र २५–१७ ले पराजित गरेको हो।
सान्त्वना भएको गण्डकी प्रदेशले ५० हजारमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरी घोषित भइन्। उनले नगद १० हजार प्राप्त गरिन्।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्लकर एपिएफकी लिला केसी, उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एफिएफका ज्ञानेन्द्र विष्ट घोषित हुँदै पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे ।