कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको मुख्यमन्त्री रनिङ सिल्डअन्तर्गत भलिबल प्रतियोगिताको पुरुषतर्फ सल्यान र रुकुम पश्चिम फाइनलमा प्रवेश गरेका छन्।
शनिबार भएको सेमिफाइनल खेलमा दैलेखलाई हराउँदै सल्यान र सुर्खेतलाई हराउँदै रुकुम फाइनलमा पुगेका हुन्।
समूह चरणको पहिलो खेलमा रुकुमलाई पराजित गरेको सल्यान पुनः जित निकाल्दै उपाधिको नजिक पुगेको हो।
पहिलो खेलमा सल्यानसँग पराजित भएको रुकुम पनि उपाधिको नजिक पुगेको हो। समूह चरणको खेलमा रुकुम, हुम्ला तथा सेमिफाइनलमा दैलेखलाई पराजित गरेको सल्यानको ६ अकं रहेको छ भने रुकुम पश्चिमको ४ अंक छ।
यस्तै, महिलातर्फको उपाधिको लागि पनि रुकुम दाबेदार बनेको छ। महिलातर्फको फाइनलमा रुकुमले कालीकोटसँग प्रतिस्पर्धा गर्नेछ।
जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा भएको सेमिफाइनल खेलमा कालीकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।
घरेलु टोली सुर्खेतले भने पुरुषतर्फ दैलेखलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।महिलातर्फ भने सुर्खेतलाई पराजित गर्दै दैलेखले तेस्रो स्थान हासिल गरेको छ।
तेस्रो हुने दुवैतर्फका समूहले नगद ५०/५० हजारसहित प्रमाणपत्र पाएका छन्।
फाइनल प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने दोस्रो हुने समूहले ७५ हजार पाउने छ।
अन्तिम चरणका खेल आइतबार हुनेछन्।