प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अङ्कले हराएको हो ।
उपाधिसहित आर्मीले रु तीन लाख पुरस्कार प्राप्त गर्यो। उप–विजेता गण्डकीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा तेस्रो भएको पुलिस क्लबले ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्यो ।
विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गरेका थिए। यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा शुरु भएको उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।
(रासस)