काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५–२२ ले गुमाएको थियो। त्यसपछि लगातार २ सेट जितेर नेपाल खेलमा फर्कियो। नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारे। तर चौथो सेटमा अफगानिस्तानले २५–२३ ले जितेर खेल २–२ बराबरी गर्न सफल भयो।
निर्णायक अन्तिम सेटमा नेपाल १५–१३ ले विजयी भयो।
भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो।
नेपालले अफगानिस्तानसँग भोलि अर्को मैत्रीपूर्ण खेल छ। एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो।
एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन्। त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।