काठमाडौँमा भदौ पहिलो साता आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानविरुद्धका दुवै खेल जितेको छ।
बुधबार भएको पहिलो खेलमा ३-२ को जित रोमाञ्चक जित हात पारेको नेपाल बिहीबार पनि ३-२ ले ने विजयी भयो।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार २-० ले पछि परेको अवस्था उल्टाएर नेपालले जित हात पारेको हो।
पहिलो सेट अफगानिस्तानले २५-२२ ले जित्यो। दोस्रो सेटमा नेपाल कमजोर देखियो। दोस्रो सेटमा अफगानिस्तानले २५-१५ ले सहज रुपमा जितेको थियो।
तेस्रो सेटदेखि नेपाल खेलमा फर्कियो। नेपाल २६-२४ ले विजयी भयो। चौथो सेटमा पनि २६-२४ को जित निकालेर नेपालले खेल बराबरी गर्यो। पाँचौ तथा निर्णायक सेट १५-१२ ले जित हात पार्दै खेल कब्जा गर्यो।
भदौ २ देखि ८ गतेसम्म हुने प्रतियोगिताको तयारीका लागि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो।
एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन्। त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।