एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप
नेपाल भर्सेस किर्गिस्तान
स्थान : आर्मी स्पोर्ट्स कम्प्लेक्स, लगनखेल
समय : सोमबार दिउँसो ४ बजे
नेपालले भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको चार दशक नाघिसकेको छ। चार दशकको अवधिमा नेपालको उपलब्धि सम्झनलायक छैन।
नेपाली भलिबलको एकमात्र अन्तर्राष्ट्रिय उपलब्धि भनेको तीन वर्षअघि माल्दिभ्समा आयोजना भएको तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्नु हो।
मध्य एसिया क्षेत्रका तल्लो वरीयताका टिमका लागि आयोजना हुने प्रतियोगिताको चौथो संस्करणमा नेपालले फिक्का प्रदर्शन गर्यो। चौथो संस्करण बंगलादेशमा आयोजना भएको थियो।
सोमबारदेखि लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा सुरु हुने पाँचौ संस्करणमा भने नेपाललाई ठूलो अवसर छ। घरेलु मैदानको फाइदा भएको नेपालको समूह ‘ए’ मा तीन वटा टिम मात्र छन्।
नेपालले सोमबार हुने पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ।
समूह चरणमा दुई मध्ये एक खेलमा जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनलको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ। सेमिफाइनलमा विजयी भए नेपालले इतिहासकै ठूलो उपलब्धि हात पार्नेछ।
अर्को समूहमा तुर्केमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन्।
प्रमुख प्रशिक्षकमा नेदरल्यान्ड्सका हान एबिङको आगामनले नेपाली टिममा सकारात्मक असर पारेको छ। उनीसँग युरोपियन भलिबल टिमको प्रशिक्षण सम्हालेको अनुभव छ। हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रूपमा काम गरेका थिए।
सन् २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा महिला भलिबल टोलीको मुख्य प्रशिक्षक थिए। उनले सन् २००८ मा जर्मन कपको उपाधिसमेत दिलाएका थिए। सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए।
हानको प्रशिक्षणमा नेपालले गत साता दुई वटा मैत्रीपूर्ण खेलेको थियो। अफगानिस्तानविरुद्ध खेलिएका दुवै खेलमा नेपाल ३-२ को सेटमा विजयी भएको थियो। खेलपछि हानले सकारात्मक नतिजाका लागि खेल्ने बताउँदै सेमिफाइनल पुग्ने लक्ष्य रहेको संकेत गरेका थिए।
प्रशिक्षक हान नेपालको मुख्य समस्याको रुपमा रहेको ‘रिसिभ र ब्लक’मा पनि सुधार देखिएकाले प्रतियोगितामा नेपालको प्रदर्शन सुधार हुने दाबी गर्छन्।
कप्तान इम रानामगर र मुख्य स्पाइकर धनबहादुर भट्ट घाइते भएकाले टिममा असर गर्ने देखिन्छ। यी दुवै खेलाडी अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए।
दुवैको विकल्पमा खेलेका युवा खेलाडीको प्रदर्शनबाट प्रशिक्षक हान सन्तुष्ट छन्। त्यसो त इम र धनबहादुरको चोट गम्भिर नभएको नेपाली व्यवास्थापनको दाबी छ।
सोमबार नेपालले प्रतिस्पर्धा गर्न लागेको कीर्गिस्तानसँग नेपालले अहिले चार खेल खेलेको छ। चार मध्ये नेपाल तीन खेलमा पराजित भएको छ। नेपालको समूहमा रहेको अर्को टिम माल्दिभ्ससँग नेपालले पाँच खेल खेल्दा ३ खेलमा जित र २ खेलमा हारेको छ।
नेपाली टिम
इमबहादुर राना (कप्तान), हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द, ईश्वर थापा मगर