एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएपछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको नेपाल दबाबमा परेको छ।
सोमबार लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपाललाई किर्गिस्तानले ३-० को सेटमा पराजित गरेको थियो। तीन टिम मात्र रहेको समूह ‘ए’ मा अब नेपालले बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ।
सेमिफाइनलमा पुग्न नेपाललाई माल्दिभ्सलाई हराउँनै पर्ने दबाब छ। किर्गिस्तानविरुद्ध स्तरीय खेल देखाउन नसकेको नेपालका लागि खेल सुधार गर्नु पर्ने चुनौती थपिएको छ।
‘किर्गिस्तान हामी भन्दा राम्रो टिम हो। तर हामीले स्तरीय खेलेनौं,’ नेपालका प्रशिक्षक हान एबिङ भन्छन्, ‘अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जस्तो खेल्न सकेनौ। किर्गिस्तान जस्तो टिमसँग खेल्न धेरै सिक्नु पर्छ।’
किर्गिस्तानविरुद्धको हारको समिक्षा गरेर अघि बढ्ने हानको भनाइ छ। ‘हारको समिक्षा गरेर मंगलबार अभ्यास गर्छौं,’ उनले भने।
बुधबार माल्दिभ्सविरुद्धको खेल कठिन हुने हानको बुझाइ छ। ‘हामीले जित्ने सम्भावना त छ। त्यसका लागि सक्ने जति सबै गर्छौं, ’ डच नागरिक हानले भने, ‘दबाबका बीच स्तरिय प्रदर्शन गर्नुपर्छ।’
माल्दिभ्सविरुद्ध जितका लागि नेपालले आफ्नो परम्परागत समस्या 'ब्लक र रिसिभ' मा सुधार ल्याउनु पर्ने देखिन्छ।
अफगानिस्तानविरुद्ध केहि आकर्षक सर्ट प्रहार गरेको नेपाल किर्गिस्तानविरुद्ध सर्ट प्रहारमा पनि फिक्का देखिएको थियो।
अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले 'ब्लक र रिसिभ' मा सुधार ल्याए पनि किर्गिस्तानविरुद्ध पुरानै समस्या दोहोर्याएको थियो।
प्रशिक्षक हान पनि नेपालको ब्लकमा सन्तुष्ट छैनन्। 'स्तरिय टिमसँग खेल्ने हो भने ब्लकमा पनि राम्रो खेल्न जुरुरी छ,' उनको भनाइ छ।
नेपाली भलिबलको एकमात्र अन्तर्राष्ट्रिय उपलब्धि भनेको तीन वर्षअघि माल्दिभ्समा आयोजना भएको तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्नु हो।
यसपटक ऐतिहासिक उपलब्धि हात पार्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलमै पराजित हुँदा समस्यामा परेको छ।
तर पनि नेपाल र माल्दिभ्सको स्तर समान भएकाले जित हात पर्ने कठिन नै भने हुनेछैन।
माल्दिभ्ससँग नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ। जसमा नेपालले ३ खेलमा जित हात पारेको छ भने माल्दिभ्स २ खेलमा विजयी भएको छ।
नेपाली टिम
इमबहादुर राना (कप्तान), हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द, ईश्वर थापा मगर