एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीच बुधबार साँझ खेल हुँदैछ।
तीन वटा टिम मात्र रहेको समूहबाट किर्गिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ। किर्गिस्तानले नेपाल र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
आज साँझ ५ बजे लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा हुने खेलबाट समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्नेछ।
पहिलो खेलमै पराजित भएपछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको घरेलु टिम नेपाल दबाबमा परेको छ।
किर्गिस्तानविरुद्ध स्तरीय खेल देखाउन नसकेको नेपालका लागि खेल सुधार गर्नु पर्ने चुनौती थपिएको छ।
नेपाल र माल्दिभ्सको स्तर समान भएकाले जित हात पर्ने कठिन नै भने हुनेछैन।
माल्दिभ्ससँग नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ। जसमा नेपालले ३ खेलमा जित हात पारेको छ भने माल्दिभ्स २ खेलमा विजयी भएको छ।
नेपाली टिम
इमबहादुर राना (कप्तान), हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द, ईश्वर थापा मगर