एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन्।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहीबार सम्पन्न सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो। उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ अङ्कले हरायो।
अर्को सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनायो। किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ अङ्कले पराजित गरेको हो। फाइनल खेल शनिबार हुनेछ।
समूह चरणका दुवै खेलमा पराजित भएको नेपालले शुक्रबार दिउँसो ३ बजे पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्नेछ। समूह चरणमा नेपाललाई किर्गिस्तान र माल्दिभ्सले ३-० को सोझो सेटमा हराएका थिए।
प्रतियोगिताअघि नेपाल र अफगानिस्तानबीच २ वटा मैत्रीपूर्ण खेल भएको थियो। दुवै खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।
त्यसपछि तेस्रो स्थानका लागि माल्दिभ्स र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुनेछ।