एसियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको उपाधि किर्गिस्तानले जितेको छ।
शनिबार भएको उपाधि भिडन्तमा किर्गिस्तानले उज्वेकिस्तानलाई २६-२४, २७-२५ र २५-१९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा सात राष्ट्र सहभागी भएकोमा तुर्कमिनिस्तान तेस्रो भयो। उसले माल्दिभ्सलाई हराएर तेस्रो स्थान हात पारेको हो।
पाँचौ स्थानको लागि भएको प्लेअफमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गरेर पाँचौ स्थान हात पार्यो।
बंगलादेश सातौं स्थानमा सीमित बन्यो।
समूह चरणका दुवै खेलमा पराजित भएको नेपालले अर्को समूहमा तेस्रो भएको अफगानिस्तानसँग पाँचौ स्थानका लागि खेलेको थियो।
समूह चरणमा नेपाललाई किर्गिस्तान र माल्दिभ्सले ३-० को सोझो सेटमा हराएका थिए।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा प्रतियोगिता भएको थियो।