प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयका टोलीले स्थान बनाएका छन्।
इर्खु मावि इर्खु, राजेश्वरी मावि सिपापोखरे, सरस्वती मावि ग्याल्थुम, सिद्धिगणेश मावि सानोसिरुवारी र सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे क्वाटरफाइलनमा प्रवेश गरेका हुन्।
इर्खुले रामदेवी मावि जलकिनेलाई, राजेश्वरीले ज्ञानमन्दिर नमूना मावि मेलचौरलाई, सरस्वतीले सेतीदेवी मावि ठूलोसिरुवारी, सिद्धिगणेशले कालीदेवी मावि कदमवासलाई र सेतीदेवी पञ्चकन्याले रामदेवीलाई हराएको हो।
शनिबार समूह चरणका नौ खेल भएका थिए। आइतबार तीन खेल हुने छन्। आइतबारदेखि नै क्वाटरफाइनलका खेल हुने आयोजक संस्थाले जनाएको छ।
इर्खु स्पोर्टस क्लबको आयोजनामा चौतारा–साँगाचोकगढी नगरपालिका–८, इर्खुमा सञ्चालित प्रतियोगिता मङ्गलबारसम्म चल्नेछ। प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन्।
चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगितासमेत यहाँ आयोजना गरिएको छ।
नगरभित्रका २८ टोलीले प्रतियोगितामा भाग लिने बताइएको छ। कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा तेस्रो हुने टोलीले १२ हजार ५०० पुरस्कार हात पार्नेछ।