नेपाली महिला भलिबल टिमका सदस्यलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो।
मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले खेलाडीलाई ३ लाख र व्यवस्थापकलाई १ लाख प्रदान गरेका हुन्।
यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।
पुरस्कार वितरण गर्न यसअघि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिए पनि स्वास्थ्यमा समस्या भएपछि उनको सट्टामा अर्थमन्त्री खतिवडा उपस्थित भएका थिए।
कार्यक्रममा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम थियो। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले खेलाडीलाई सम्बोधन गरेका छन्।
ओलीको मंगलबार नै महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ।
पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार विहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।