न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टिमले भाग लिने भएका छन्।
पुस २३ देखि २६ गतेसम्म हुने प्रतियोगिताको तयारी बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा ७ टिमको सहभागिता निश्चित भएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए।
प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, नेपाल प्रहरी, पोखराको टप्स उमावि, नेपाल आर्मी, कुलेश्वरको पारामाउन्ट इङलिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको मुख्य प्रायोजकमा होङ्गान्जी बौद्ध समाज रहेको छ। गत वर्ष पनि मुख्य प्रायोजक रहेको होङ्गान्जीले यो वर्ष प्रायोजन वापत नगद र जिन्सी गरी जम्मा १५ लाख दिने भएको छ। गत वर्ष होङ्गान्जीले ५ लाख रुपैयाँ दिएको थियो।
सम्झौता अनुसार होङ्गान्जीले पहिलो किस्ता वापत प्रथम र दोश्रो हुने टिमको नगद पुरस्कार होङ्गान्जीका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले हस्तान्तरण गरेको संयोजक राईले जानकारी दिए।
प्रथम पुरस्कार ४ लाख १ सय १ रुपैयाँ तथा दोश्रो पुरस्कार ३ लाख १ सय १ रुपैयाँ नगद राखिएको छ। तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन्। तेश्रो पुरस्कारको राशी मुक्तिनाथ विकास बैंक तथा चौथो पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्ने भएको छ।
त्यस्तै ब्ल्याक हर्स सुजले चौथो पुरस्कारको रकम बराबर आर्थिक सहयोग प्रदान गर्ने बताइएको छ। सात व्यक्तिगत उत्कृष्ट विधाको पुरस्कार जनही ७ हजार १ सय १ रुपैयाँ श्रद्धधा फाइनान्स, न्युरोडले उपलब्ध गराउने भएको छ। तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, चन्द्रागिरी नगरपालिकाको वडा १५ ले ३० हजार, वडा ६ का अध्यक्षले व्यक्तिगत १० हजार र वडाको तर्फबाट १० हजार उपलब्ध गराउने जानकारी दिइयो । सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँबाट पुरस्कृत गरिने छ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आयोजक न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी माली र संयोजक राईलाई सहयोग स्वरुप ५ थान भलिबल हस्तान्तरण गरे। ‘खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान त थियो नै। अब प्रतियोगिता गरेर भलिबलको विकासमा पनि सहयोग भएको छ। आर्थिक हिसाबले के सहयोग गर्न सक्छौं। त्यसमा पनि हामी छलफल गर्छौ ।’– महासचिव चन्दले भने।