नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आईतबार एपिएफ र सेनाको त्रिभुवन आर्मी क्लबतर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
एपिएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) लाई ३–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
एपिएफले बिएमसीलाई २५–११, २५–१२ र २५–१६ ले पराजित गरेको थियो। एपिएफको ६ अंक भएको छ।
यसअघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो। यस्तै सेनाको टिएसी पनि सेमिमा स्थान बनाउन सफल भएको छ। टिएसीले जेभिसीलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो। टिएसीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो।
समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपिएफ र सेना विचको प्रतिस्पर्धाबाट हुनेछ।
दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) लाई २५–१०, २५–१५, २५–११ ले पराजित गर्यो। ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमानै हेल्प नेपाल क्वाटरफाईनल प्रवेश गर्न सफल भएको हो।
हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ ।