छैठौँ प्रधानमन्त्री कप अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेकोे छ।
बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधि जीतेसँगै पुलिसले रु दुई लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ।
यो जीतसँगै नेपाल पुलिसले पिएम कपमा दुई संस्करणको उपाधि हात पारेको छ भने उपाधिमा ह्याट्रिक गर्ने एपिएफको सपना पूरा हुन सकेन । फाइनलमा पुलिसले २५–१६, २५–१७ र २५–१७ को सोझो सेटमा एपिएफलाई स्तब्ध पारेको हो। उपबिजेता बनेको एपिएफले १ लाखमा चित्त बुझाउनु परेको छ ।
आज नै भएको अर्को खेलमा न्यू डायमण्डलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले तेस्रो स्थान हात पारेको छ । आर्मीले २५–२१, २५–२० र २५–२० को सेटमा न्यू डायमण्डलाई पराजित गर्दै तेस्रो हुँदा ५० हजार प्राप्त गरेको छ । विजयी टिम र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा पाँच घरेलु टिम सहभागी रहेका थिए।