राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावान खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ।
त्यसमा समान १२–१२ पुरुष-महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन्।
खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए।
सदस्य–सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।
सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन्।
पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ।