कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ।
नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो। बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ। प्रशिक्षण केन्द्रको टोलीले सेनालाई २–१ सेटको अन्तरले पराजित गरेको हो।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टको पहलमा केही समयअघि निर्माण सम्पन्न भएको बीच भलिबल कोर्ट सुदूरपश्चिमकै पहिलो भएको जिल्ला भलिबल सङ्घले जनाएको छ। त्यसैगरी सेनाले यहाँ सैनिक दिवसकै अवसरमा पुरुष तथा महिला मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ।
पुरूष भलिबलमा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले सेनाको श्री नं २५ बाहिनी अड्डाको टिमलाई सोझो दुई सेटले पराजित गरेको छ। त्यसैगरी महिला भलिबलमा भने सेनाको टोलीले भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई पराजित गरेको छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले उद्घाटन गरेको मैत्रीपूर्ण खेलमा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष हेमविक्रम थापाले प्रशिक्षण केन्द्रलाई खेल सामग्री प्रदान गरे।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले प्रमाणपत्र प्रदान गरे। उनले सैनिक दिवसका अवसरमा यहाँ साताव्यापी स्वास्थ्य शिविर र विभिन्न मैत्रीपूर्ण खेलकूद आयोजना गरिनुका साथै राउटे, असहाय, विपन्न तथा वादी समुदायलाई खाद्य तथा कपडा वितरण गरिनेक्रम जारी रहेको जानकारी दिए।
सेनाले शनिबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय ७०० भन्दाबढी लाभान्वित भएका थिए।