सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन-तीन जित निकालेका छन्।
समान जित निकालेसँगै दुवै टिम उपाधिका लागि भिड्ने भएका छन्।
नेपालगन्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमबार एपिएफले न्यू-डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो।
पहिलो सेट न्यू-डायमण्डले २५–२३ ले जितेको थियो। त्यसपछि लगातार एपीएफले जित निकाल्यो। एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित गर्यो।
पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो। खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन्।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जित निकालेको हो।
पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो। पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो। दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो।
तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो। आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो। १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो। यो सेटमा पुलिस २७–२५ ले विजयी भयो। चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो।
उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी भइन्।
प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुनेले एक लाख नगदबाट पुरस्कृत हुनेछन्।