सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।
पुरुषतर्फ एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो।
पुरुषतर्फ यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपिएफ सँग समान अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो।
७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिस ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन्। नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन्।
महिलातर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको ३ खेलमा तीनै खेल जित्दै समान ८-८ अंकका साथ शीर्ष स्थानमा छन्।
आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए। यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।
शीर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आज भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पार्यो।
पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५।९, २५।५, २५।५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५।९, २५।८, २५।१३ ले पराजित गरेको हो।
यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५।१८, २५।१९, २५।११ ले पराजित गर्यो।
तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१।२५, २५।१८, २६।२४ र २५।२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो।