छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि सुरू हुने भएको छ।
नेपाल भलिबल संघका अनुसार असोज १६ सम्म हुने च्याम्पियनसिपमा १२ पुरुष र ६ महिला टिम सहभागी हुनेछन्।
पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोर्ट्स, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द भलिबल क्लब, बाग्मती प्रदेश, वाली मिलन क्लब नयाँ बजार, सामाजिक क्लब र कर्णाली प्रदेश गरी १२ टिमको सहभागीता रहनेछ।
महिलातर्फ न्यू डाइमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लब गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश: ४ लाख, २ लाख र १ लाख प्रदान गरिनेछ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिइनेछ।
दुवै विधातर्फ उत्कृष्ट सरभर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकलाई पनि जनही १०/१० हजार रुपैयाँ प्रदान गरिने छ।