नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा दुई खेलमा जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा रहेका छन्।
पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो। पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो।
प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो। पुलिस समूह 'बी'मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो।
यसै गरि गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ। समूह 'ए'मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो।
यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश नं. २ माथि जित निकाल्दै थप तीन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो।
सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ।
समूह 'ए'मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतिय खेलाडीहरुलाई प्राथमिकतामा राखेको छ।
यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो।
दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो।