एपिएफ र न्यू डायमण्ड क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन्।
पाँचौ संस्करणमा पनि दुई टिमबीच उपाधिका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो।
शुक्रबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
एपिएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो। दोश्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेश्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो।
हारको नजिक पुगेको एपिएफ आफूलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्याउन सफल भयो। अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाईनल यात्र तय गर्यो।
यस्तै दोश्रो खेल पनि निकै रोमाञ्चक रह्यो। न्यू डायमण्डले पुलिस माथि ३–२ को जित निकाल्दै उपाधिका लागि चिरप्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गर्यो।
पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो। तेश्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिन पुगेको डायमण्ड चौथो सेटमा सम्हालिँदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्याउन सफल भयो।
अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधिको निकट पुग्यो।