साविक विजेता एपिएफ क्लबलाई पराजित गर्दै न्यू डायमण्ड क्लबले एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को महिलातर्फ उपाधि जितेको छ।
शनिबार सम्पन्न खेलमा डायमण्डले एपिएफ माथि ३–१ को जित निकाल्दै उपाधि जितेको हो।
पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यसपछि सम्हालिँदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो।
दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधीलाई आफ्नो पक्षमा पार्यो।
त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो भयो। आर्मीले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो।
महिलातर्फ डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनइन्। यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए।
च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे।
यस्तै तेश्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।
यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पुरुषतर्फ साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो।
आर्मीले जित हात पार्ने क्रममा पहिलो सेट २६–२४ को संघर्ष पूर्ण जित निकाल्यो। दोश्रो सेट १७–२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेश्रो सेटमा सम्हालिँदै २५–१८ ले आफ्नो पक्षमा पार्यो।
चौथो सेट निकैनै रोमाञ्चक रुपमा ३३–३१ को संघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो।
च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्यो भने उपविजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे।
पुरुषतर्फ एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गर्यो। पुलिसले एपिएफलाई २५–१७, २५–१८ र २५–१४ को सहज जितका साथै नगद १ लाख प्राप्त गरेको हो।
पुरुष तर्फ सेनाका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए। यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईम बहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए।
उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे।