प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ।
शनिबार भएको फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो।
पहिलो सेट २५–२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५–१३ ले जित्यो।
त्यस्तै, तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कंदा डोटीले २५–२१ ले जित्दै च्याम्पियन भएको हो।
उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ।
यस्तै, प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिम कैलाली र कञ्चनपुरले २५/२५ हजार नगदसहित ट्रफी पाएका छन्।
विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए।
त्यसैगरी, कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा असोज २० गतेदेखि २३ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको थियो।