एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टिमले दोस्रो हार बेहोरेको छ।
शनिबार साँझ ढाकामा भएको खेलमा नेपालमाथि श्रीलंकाले ३-१ को सेटमा जित हात पार्यो।
पहिलो सेटमा श्रीलंका २५-१८ ले विजयी भयो। दोस्रो सेटमा नेपालले २५-२२ को जित निकाल्दै खेललाई १-१ को बराबरीमा ल्यायो।
तर तेस्रो सेटमा श्रीलंका २५-१६ र चौथो सेटमा २५-१५ ले विजयी भयो। हारसँगै नेपालको फाइनल पुग्ने सम्भावन कठिन बन्दै गएको छ।
यसअघि पहिलो खेलमा बंगलादेशमा पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई हराएको थियो।
यता महिलातर्फनेपालले शनिबार आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो। नेपालले पहिलो सेट २५-५, दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-१७ ले जित्यो।
जितसँगै नेपालले ८ अंक जोडेको छ। दोस्रो स्थानको उज्वेकिस्तानको ५ अंक छ।
प्रतियोगिताको साविक विजेता नेपाली महिला टिमले यसअघि शुक्रबार भएको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित निकालेको थियो।
अब उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ