एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार चौथो खेलमा जित निकालेको छ।
आइतबार ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। जितसँगै साविक विजेता नेपाल फाइलनमा पुगेको छ।
नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २४-१४ ले सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। जितसँगै नेपालले ११ अंक जोड्यो।
दोस्रो स्थानको श्रीलंकाको १० अंक र तेस्रो स्थानको उज्वेकिस्तानको ९ अंक छ। अब नेपालले किर्गिस्तानसँग खेल्न बाँकी छ।
महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
यता पुरूषतर्फ नेपाल तीन मध्ये दुई खेलमा पराजित भएको छ। बंगलादेश र श्रीलंकासँग पराजित नेपालले उज्वेकिस्तानलाई हराएको थियो। नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।