एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।
सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित हात पारेको हो।
पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४-१७ ले विजयी भयो।
यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ।
अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३-० को सेटमा पराजित गरेको थियो। श्रीलंकालाई भने नेपालले ३-२ ले हारएको थियो। समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो।
महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो।
यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो।
यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।