नेपालले आज बंगलादेशमा जारी एसियन सिनियर भलिबल सेन्ट्रल जोनअन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तान खेल्दै छ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान ११:१५ बजेबाट खेल सुरू हुनेछ।
साविक विजेतासमेत रहेको नेपालले जारी प्रतियोगितामा अपराजित रहँदै लगातार पाँच खेलमा जित हात पारेको छ।
नेपाललाई आज अपराजित रहँदै सेन्ट्रल जोनको उपाधि जित्ने ठूलो अवसर पनि छ ।
राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटले हराएको थियो।
महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले खेल्नेछन्।
पुरूषतर्फ नेपालले तेस्रो स्थानका लागि आजै उज्वेकिस्तानसँग खेल्दैछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो।